उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालय र नेपाल सेना अन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन्।
आइतबार रक्षा मन्त्रालयमा बसेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आवको बाँकी अवधिमा थप मिहिनेत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखहरूलाई निर्देशन दिए।
उनले सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-मधेस द्रुतमार्ग निर्माणलाई गुणस्तरीय ढंगले निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकहरूले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताए।
उनले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरी सोको आधारमा गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिए।
साथै उनले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्न समेत निर्देशन दिए।
उनले सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनैतिक महत्त्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाहरूको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए।
समस्याहरूको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपायहरू पहिल्याई आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको उनको भनाइ थियो।