नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कार्यकर्ताहरूले नेकपा (माओवादी केन्द्र) सँग चुनावी गठबन्धन र सत्ता साझेदारी गरेको भन्दै गुनासो गरेका छन्।
'समुदायमा कांग्रेस' अभियानका लागि सोमबार झापाको दमक पुगेका कोइरालालाई कार्यकर्ताहरूले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराउँदै गएको गुनासा गरेका थिए।
पार्टी नेतृत्वमा नैतिकताको खडेरी देखिएको र पार्टी विचार शून्य हुँदै गएको उनीहरूको भनाइ थियो।
‘माओवादीलाई बोकेर हिँड्न सकिन्न,’ कार्यकर्ताका भनाइ उद्धृत गर्दै कोइरालाको सचिवालयले भनेको छ, ‘हाम्रै साथीहरू मार्नेसँग कसरी नेताहरू सँगै हिँड्न सकेका हुन्?’
साथै उनीहरूले कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा राखेका थिए। घोषणा पत्रअनुसार मन्त्रीहरूले काम नगरेको गुनासा उनीहरूको थियो।
कार्यकर्ताका गुनासा सुनेपछि जवाफ दिँदै कोइरालाले अबदेखि कुनै पनि चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले जानकारी दिएको छ।