सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले मुलुकलाई आवश्यक पर्ने कानुन बनाउन र संसदीय गतिविधिमा प्रभावकारी हुने प्रण गर्नुपर्ने बताएका छन्।
सोमबार सुरू भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण र विषयगत समितिले पूर्णता पाएसँगै संसदीय गतिविधि क्रियाशील र जीवन्त हुँदै गएको उनले बताए।
चालु अधिवेशन मुलुकका लागि आवश्यक कानून निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए।
सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसदका चालु अधिवेशन नतिजामुखी हुने विश्वास गरेका छन्।
संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने उनले बताए।
‘संसदीय प्रणालीमा संसदको काम कानून निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानून बनाइ सहयोग गर्ने पनि हो,’ उनले भने, ‘विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधि क्रियाशील र जीवन्त हुँदै गएको छ।’
ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएको उनले बताए।