नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि आकस्मिक केन्द्रीय समिति बैठक बस्न लागेको हो।
महामन्त्री गगन थापाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।
‘हाम्रो पुराना नेता, केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको खबर आज बिहानै थाहा भयो,’ थापाले भने, ‘यो खबरले हामी स्तब्ध छौं। कुशल नेता, स्पष्ट वक्ता र निडर व्यक्तित्वका रूपमा उहाँलाई हामी चिन्छौं।’
उनले बहालवाला केन्द्रीय सदस्यको निधन भएको अवस्थामा एक दिन पार्टी कार्यालयमा झण्डा झुकाउने, तीन दिनसम्म औपचारिक कार्यक्रम स्थगित गर्ने परम्परा रहेको बताए। ‘आज बिहान १० बजेपछि केन्द्रीय समिति बैठक बस्दैछ,’ उनले भने।
उनकाअनुसार 'समुदायमा कांग्रेस' अभियान तीन दिनसम्म स्थगित हुनेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न आकस्मिक केन्द्रीय समिति बैठक बोलाइएको हो।
निमोनियाबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो।
पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापाको शनिस्चरेका हुन्।
उनी पञ्चायतदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री थिए।