नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धरहरा निर्माण पहिले नै सम्पन्न भइसकेको बताएका छन्।
निर्माण सकिएको धरहरा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनसमेत गरेको उनको भनाइ छ।
धरहरा पुनर्निर्माण परियोजनालाई पाँच भागमा बाँडेर काम गरिएको उनले बताएका छन्।
‘तत्कालीन प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य सम्पन्न भइसकेको छ,’ महासचिव पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अरू परियोजनाको काम सरकार परिवर्तनका कारण बिलम्ब भएको छ तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ।’
यो पनि: धरहराको नि:शुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित
धरहरा निर्माण परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक रहेको महासचिव पोखरेलको भनाइ छ।
काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो।’
मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दुई वर्ष ९ महिना २० दिनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको प्रसंग उल्लेख गरेका थिए।
‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट 'सेतो टावर' उदघाटन भयो। सोही उद्घाटनलाई तत्कालीन मेयर विद्यासुन्दर शाक्यले 'आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’ भन्नुभएको थियो,’ मेयर बालेनले लेखेका थिए।
सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो। ‘केही दिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नू' भन्ने पत्र लेखिन्छ,’ मेयर बालेनले भनेका थिए।
यो पनि: बालेनलाई आक्रोशित बनाउने सहरी विकास मन्त्रालयको पत्र
मेयर बालेनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने गरी नीति बनाउन संघीय र प्रदेश संसदलाई आग्रहसमेत गरेका थिए।
मेयर बालेनले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको आलोचना गरेपछि एमाले महासचिव पोखरेलले धरहरा पुननिर्माणको परियोजना अन्तर्गत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्ने गरी पाँच भागमा विभक्त गरिएको उल्लेख गरेका थिए।
‘पहिलो, पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने। दोस्रो, तेसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित धरहराको निर्माण गर्ने। तेस्रो, भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने। चौथो, भित्री सहर र पर्यटकको सुविधालाई ध्यानमा राखेर अण्डरग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ, अण्डरग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैंचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने। त्यसका लागि गोश्वारा हुलाकको वरिपरिको सरकारी जमिन पनि प्रयोग गरिएको छ,’ महासचिव पोखरेलले भनेका छन्।
यो पनि:
महानगरलाई सहरी विकासमन्त्रीको चेतावनीः धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन (भिडिओ)
नयाँ वर्षदेखि धरहरा चढ्न पाइने! (भिडिओ)
उद्घाटन गरेको दुई वर्षमा पनि बनिसकेन धरहरा, कति बाँकी?
धरहरा उद्घाटनको ड्रोन भिडिओ हेर्नुहोस्