राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने बताएका छन्।
लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्न नहुने पनि उनले बताए।
‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन,’ रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने, ‘कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक हुन्छ।’
केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए।
‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि गर्नुपर्यो तर बिचलित नभई काम गरेकोले त्यसैलाई आधार मानेर राजनीतिक यात्रा सुरू भयो।’
पाँच, छ महिनाकै तयारीमा देशको राजनीतिक चौथो शक्ति जनताले बनाइदिएको उनको भनाइ थियो। उनले दलीय आबद्धता त्याग गर्न पत्रकारहरूलाई आग्रह पनि गरेका थिए।
‘हुन त मलाई के भनिन्छ भने- पत्रकार हुँदा नेतालाई गाली गर्थ्यो। नेता भएपछि पत्रकारलाई गाली गर्छन् भनेर पनि भन्ने गरिन्छ,’ लामिछानेले भने, ‘त्यो कुरा साँचो होइन। म पत्रकार त आफूलाई भन्न पाइनँ। पत्रकार बन्ने प्रयासमा थिएँ, सञ्चारकर्मी थिएँ।’
चित्त नबुझेका बेला प्रेस काउन्सिललाई पनि आफूले प्रश्न गरेको उनले बताए। ‘पत्रकार हुँदा नेतालाई, नेता हुँदा पत्रकारलाई गाली गर्ने होइन,’ उनले भने, ‘कुनै पनि क्षेत्रका गलत क्रियाकलाप छन् भने निरन्तर आवाज उठाउँदै आएका छौं।’