नेकपा (माओवादी केन्द्र) नेता ओनसरी घर्तीले संघीयतासम्बन्धी कानुन छिटो बनाउनुपर्ने बताएकी छन्।
संघीयता र धर्मनिरपेक्षतामाथि नै प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था भएअनुसार यससम्बन्धी कानुन तत्काल बनाउनुपर्ने उनले बताइन्।
मंगलबार काठमाडौंमा भएको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरूले घनिभूत छलफल गर्नुपर्ने बताइन्।
जनता र जनप्रतिनिधि बीचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उनले बताइन्।
‘हामीले छिटो संघीयताको संविधानमा जे व्यवस्था गरिएको छ त्यो व्यवस्थालाई कार्यान्वयन गरौं। निजामती ऐन, प्रहरी ऐन र धर्म निरपेक्षतासम्बन्धी पनि भयंकर प्रश्न उठेको छ,’ उनले भनिन्, ‘यसमा पनि हामीले ठोस कानूनी व्यवस्था गरेका छैनौं।’
संसदलाई कानून निर्माण गर्ने थलोको रुपमा स्थापित गराउन पनि राजनीति दलहरु लाग्नुपर्ने उनले बताइन्।
(न्युज एजेन्सी नेपाल)