नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र मन्त्री फेर्ने कुरा बाटाघाटामा गर्न नहुने बताएका छन्।
मन्त्री फेर्ने हो भने पनि फेरिहाल्नुपर्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्री वा मन्त्री कसैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नु हुँदैन,’ नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘मन्त्री नै फेर्नु छ भने जुनदिन फेर्ने हो फ्याट्ट फेरिहाल्ने हो, मिडियालाई खुसुक्क थाहा पनि नदिने हो।’
उनले न्याय र अधिकारका लागि आवाज उठाउन पाइने बताए। ‘यो संविधान र गणतन्त्र नै फाल्न खोजे अर्कै कुरा, न्याय र अधिकारका लागि भने आवाज उठाउन पाइन्छ,’ अध्यक्ष नेपालले भने।
सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बेला आएको भन्दै अध्यक्ष नेपालले भने, ‘यस्तो बेलामा प्रधानमन्त्री को भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ?’
सत्तारूढ नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री शशांक कोइरालाले हालै सत्ता गठबन्धनको समझदारीअनुसार पुष्पकमल दाहाल 'प्रचण्ड' पछि प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको हो भनेका थिए।
कांग्रेस नेताहरूको यस्तो अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले 'स्वतन्त्र सांसद' लाई प्रधानमन्त्री बनाउन नहुने बताएका थिए।
यो पनि: कांग्रेस नेताहरूले प्रधानमन्त्री हुने पालो माधव नेपालको भनेपछि ओलीको व्यङ्ग्य