राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन्।
मीनकुमारी राणा प्रतिष्ठानले बिहीबार शितल निवासमा गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत र पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए।
‘राजनीतिलाई समाज सेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो। जनता र समाजको सेवा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्छ,’ उनले भने।
सो अवसरमा राष्ट्रपति पौडेलले मीनकुमारी प्रजातन्त्र सेनानी सम्मानबाट लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कारबाट किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कारबाट प्रकाश थापालाई पुरस्कार प्रदान गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।