गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन्।
पोखरामा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभामा गण्डकी मुख्यमन्त्री पाण्डेले घरजग्गा व्यवसायलाई व्यवस्थित बनाएर अघि नबढे यो क्षेत्र धरासायी हुने बताएका हुन्।
‘पहिले पश्मिना, गलैंचा व्यवसाय फस्टाएको थियो। पछि जो पनि पश्मिना गलैंचाको व्यवसाय गर्ने भएपछी यो अव्यवस्थित हुँदै पलायन नै भयो,' उनले भने, ‘त्यो स्थिती घरजग्गामा पनि देखिएको छ। अब घरजग्गा व्यवसायलाई व्यवस्थित नबाउने हो भने धरासायी हुन्छ।’
व्यवस्थित बसोबासमा घरजग्गा व्यवसायीको ठूलो भूमिका उनको भनाइ छ। व्यवस्थित बसोबास गर्न सके सरकारको खर्च पनि कटौती हुने उनले बताए।
‘अहिले सरकारले जहाँ जहाँ घर बनेका छन् त्यहाँ बाटो, खानेपानी लगायत पूर्वाधार बनाइरहेको छ। व्यवस्थित बसोबास हुने हो भने घर घरमा पुर्वाधार बनाउनु पर्दैन थियो,’ उनल भने।
बाटो, खानेपानी तथा बत्तिको व्यवस्था भएको ठाउँमा अब बस्ती विकास हुनपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री पाण्डेले डेभलपर्सले सहरभित्र सहर नभई नयाँ सहर नै बनाउनु पर्ने बताए। उनले जग्गाको हदबन्दी सम्बन्धी कानुन बनाउने अधिकार प्रदेशलाई नभएको सुनाए।