नेकपा एमालेकी सांसद विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयमा टेस्टेड र फेलियरलाई उपकुलपति बनाउन खोजिएको बताएकी छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक हस्तक्षेप नगर्ने संकल्प गरेर त्रिविमा परीक्षण भएर असफल भइसकेकालाई उपकुलपति बनाउन खोजेको बताएकी हुन्।
उनले त्रिविको उपकुलपति बन्ने सूचीमा रहेका १४ जनामा परीक्षण भएर पनि असफल भएका र विभिन्न किसिमका आरोप खेपेका व्यक्तिहरू पनि रहेको बताउँदै त्यस्ता व्यक्तिहरूलाई ल्याउनुको कारण सोधेकी छन्।
‘पहिले युनिभर्सिटीका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र युनिभर्सिटीको स्तर पनि पछाडि धकेलेका मान्छेहरू आएका छन्,’ उनले भनिन्, ‘राजनीतिक हस्तक्षेप हुन दिन्नं भनेर संकल्प गर्दा टेस्टेड र फेल भएकाहरूलाई फेर युनिभर्सिटीमा ल्याउनका लागि छानेको हो ? फेल भएका मान्छेलाई किन ल्याएको?’
सांसद पौड्यालले त्रिविको स्तर पहिलेभन्दा खस्किँदै गएको पनि बताइन्। त्रिविमा ८० प्रतिशत विद्यार्थी पढ्ने र यहीँबाट कर्मचारीदेखि वैज्ञानिक र राजनीतिज्ञ समेत आउने उनले बताइन्।
राजनीतिक कारणले विश्वविद्यालयहरू थला परेको सत्य भएको बताउँदै उनले यसपालि प्रधानमन्त्रीले चिर्ने भनेपनि प्रधानमन्त्रीले विवादास्पद व्यक्तिहरूलाई ल्याएको उनले आरोप लगाइन्।
‘कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारमा मुद्दा चलेका मान्छेहरूलाई किन ल्याएको युनिभर्सिटीमा?,’ उनले भनिन्।