रौतहट जिल्ला अदालतले अफताब आलमको मुद्दामा सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको छ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको अदालतका स्रेस्तेदार उद्धव ढोडरीले जानकारी दिए।
इजलासले जाहेरवाला गौरीशंकर रामको शारिरिक परीक्षक प्रतिवेदन झिकाउन पनि आदेश भएको स्रेस्तेदार ढोडरीले बताए।
‘इजलासले दुई वटा आदेश दिएको छ। यो काम दुबै सकेपछि अर्को पेशी तोक्ने काम हुन्छ,’ उनले भने।
रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा कांग्रेस नेता आलम अहिले पुर्पक्षका लागि थुनामा छन्।
रौतहट बमकाण्डमा आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दा लगाइएको छ। उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग छ।
विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको छ।
अभियुक्तमध्ये मुक्ति साहलाई देखिदेखि, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ।
अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख छ।
रौतहट बमकाण्डको कसूरमा आलमसहित मोहताब आलम, शेख भदई, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।
पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब सबैभन्दा पहिले पक्राउ परेका थिए। प्रहरीले यस घटना भएको १२ वर्षपछि २०७६ असोज २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।
त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ।
रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए।
रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ।