नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्न नागरिकहरूबाट सुझाव माग गरेका छन्।
कांग्रेस सुदृढीकरणलगायत विषयमा सुझाव दिन कोइरालाले अनलाइनमार्फत् आह्वान गरेका हुन्।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक गर्दैछ।
२०७८ मंसिरमा नेतृत्व अधिवेशन मात्रै गरेको कांग्रेसले नीति अधिवेशनको कामसमेत गर्ने गरी महासमिति बैठक गर्न लागेको छ।
महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी, महामन्त्रीद्वय गगन थापाले सांगठानिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्।
महासमिति सदस्यहरूले पनि विभिन्न विषयमा कुरा राख्न खोजेका छन्। कोइराला, नैनसिंह महर, भूपेन्द्रजङ्ग शाहीलगायतले महासमितिमा राख्ने विषयबारे सुझाव लिइरहेका छन्।
कांग्रेस महासमिति बैठकमा करिब २३ सय जना सहभागी हुनेछन्। पार्टीले लिने नीतिबारे समूहगत रूपमा छलफल गरी पारित गर्ने तयारी कांग्रेसको छ।