नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताएका छन्।
गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै उनले कांग्रेससँगको सहकार्य माओवादीका लागि लाभदायक नभएको बताए।
‘राष्ट्रिय सभा चुनावमा कोशीमा माओवादी उम्मेदवार हार्ने, नेकपा (एमाले) का उम्मेदवारले जित्ने दुर्भाग्यपूर्ण अवस्था आयो,’ केन्द्रीय कमिटी बैठकमा बोल्दै दाहालले भने, ‘कोशीमा पहिले हामीले सभामुख छाडियो, पछि मुख्यमन्त्री पनि छाड्नपर्यो। राष्ट्रिय सभामा पनि हराइयो। यसले कांग्रेससँग हाम्रो सहकार्य लाभदायक छैन भन्नेतिर हामी पुग्नुपर्ने देखियो।’
राष्ट्रिय सभा चुनावमा १९ सिटमा सत्ता गठबन्धनले भागबन्डा गरी साझा उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी हुँदा कोशीमा माओवादीकी कार्की पराजित भएकी थिइन्। कोशीमा कांग्रेसले धोका दिएको माओवादीको दाबी छ।
‘अहिले हामीलाई प्रधानमन्त्री पनि कांग्रेसले बनाएको त होइन,’ दाहालले भने, ‘कांग्रेससँगको सहकार्यबारे गम्भीरतापूर्वक विचार गर्नपर्ने भएको छ। तर यसको अर्थ अहिले नै गठबन्धन तोड्ने भन्ने त होइन।’
२०७९ पुस १० गते नेकपा (एमाले) सहित दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए। पछि उनलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो।