प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेतृत्वमा बसिराख्ने लोभ नभएको बताएका छन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा मंगलबार भएको प्रथम विधान सम्मेलनमा बोल्दै उनले 'जनयुद्ध'का सहयात्रीहरू तथ्य र तर्कसहित आए आफू नेतृत्वका बसिराख्न पनि लोभ नभएको बताएका हुन्।
‘जीवनको उत्तरार्द्धमा पनि फेरि एकचोटी देशलाई क्रान्तितिर लैजाने सङ्कल्प गरेको छु, कोही कमरेडहरू तर्क र तथ्यसहित भन्नुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्न लोभ पनि छैन,’ दाहालले भने।
'जनयुद्ध'का सहयात्रीहरू एकै ठाउँमा आउन अब ढिला गर्न नहुने बताएका उनले त्यसका लागि कहाँ कमजोरी भयो ती सबैको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
‘जति ढिलो गर्यो त्यति धेरै क्षति र राजनीतिक परिवर्तनप्रति त्यति ठूलो घाटा हुनसक्छ। आउनुस् बसौं, समीक्षा गरौं। कहाँ कमी भयो कम्युनिष्ट मनले आत्माआलोचना गरौं,’ दाहालले भने।
परिवर्तन र प्राप्त उपलब्धिको रक्षाका लागि मात्रै नभई क्रान्तिकारीहरू एक ठाउँमा आउँदा समाजवादी जनक्रान्तिको लहरसमेत सिर्जना हुने उनले बताए।
‘एक भएर प्रतिवाद गर्यौं भने जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षामात्र होइन हामीले आँट गर्दा समाजवादी क्रान्तिको नयाँ लहर सृष्टि गर्न सकिन्छ भन्ने मेरो पूरै विश्वास छ,’ उनले भने।
उनले 'जनयुद्ध'का सहयात्रीहरू एक हुने उत्तम समय यही भएको बताए।
‘एकातिर समाजवादी मोर्चा बनाएका छौं। अर्कोतिर समान विचारका पार्टी एक हुने कोशिस पनि गरिरहेका छौं। सबै क्रान्तिकारीहरू एकताबद्ध हुने यो राम्रो अवसर हो। प्रतिक्रियावादीविरूद्ध जाइलाग्ने पनि यो राम्रो अवसर हो,’ अध्यक्ष दाहालले भने।
यो पनि: माओवादीका नेताहरू भन्छन्- 'जनयुद्ध दिवस' को बिदामा अदालतले पुनर्विचार गरोस्