अर्थमन्त्री प्रकाशशरण महतले रेडियोहरूलाई नवीकरण र रोयल्टी जरिवाना बापतको रकममा छुट दिइने बताएका छन्।
विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले जरिवाना रकम छुट गर्न पहल भइरहेको बताए।
‘रेडियोहरूलाई नवीकरणबापतको रकममा छुट गर्ने निर्णय गरेर पुसमै लेखी पठाएको हो,’ उनले भने, ‘सञ्चार मन्त्रालयले यसको कार्यान्वयन गर्नेछ।’
उनकाअनुसार रोयल्टी जरिवाना बापतको रकममा छुट दिने विषयमा पनि पहल हुनेछ।
उनले मन्त्रिपरिषदमा उक्त विषय आएमा पारित गर्न आफूले पहल गर्ने पनि बताए। उनले अर्थतन्त्रमा सुधारका संकेत देखिएको बताएका थिए।