नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म गोदावरीमा महासमिति बैठक गर्दैछ।
नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक हुन लागेको हो।
महासमिति बैठक नजिकिएसँगै कांग्रेसका नेताहरूले बैठकमा छलफल गरिनुपर्ने विषयबारे सुझाव सङ्कलन गर्दै आएका छन्।
यसैक्रममा युवा नेताहरूले मंगलबार काठमाडौंको बत्तिसपुतलीमा कार्यक्रम गरेका छन्। महासमिति बैठकमा उठान गर्नुपर्ने एजेन्डाका विषयमा छलफल गरिएको नेता भूपेन्द्रजङ्ग शाहीले बताए।
‘महासमितिलाई कर्मकाण्डी मात्र बनाउन हुन्न। पार्टीले आगामी दिनमा लिने नीतिबारे गहिरो गरी छलफल गरेर निर्णयमा पुग्नुपर्छ, त्यसका लागि एजेन्डा के-के हुन सक्छन् भन्नेबारे कुराकानी गरिएको हो,’ उनले भने।
पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्यालाई समाधान गर्न सबै पक्षलाई समेटेर जानुपर्ने उनले बताए। पार्टीभित्र देखिएको गुट अन्त्यका लागि पनि शीर्ष नेताहरूले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
शाहीसहित गुरूराज घिमिरे, रञ्जित कर्ण, वंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराई, विनोद खनाललगायतले छलफल गरेका हुन्।