नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।
मेची–महाकालीबाट सुरू भएको मिटरब्याज पीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटर ब्याज पीडकहरूलाई कडा कारबाही गर्न सरकार समक्ष माग गरेका हुन्।
‘मिटरब्याज पीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन्। यो आन्दोलन दलाल पुँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनीधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनता माथि गर्दै आएको मिटरब्याजी भनिने निर्मम, क्रूर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो,’ उनले भनेका छन्
केही महिनाअघि पीडित किसानहरूले विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर राजधानी पुगेर आन्दोलन गर्दा पनि सरकारले पीडाको सम्बोधन गर्न नसकेको खनालले बताएका छन्।
‘सरकारले किसानहरूका माग पूर्ति गर्न र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउन सकेन। जुन कानुन बन्यो त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन। किसानहरू माथि भइरहेका लुट र अत्याचारहरू यथावत जारी रहे। त्यसले गर्दा फेरि आज मिटरब्याज पीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन्। मिटर ब्याज पीडकहरूका विरुद्ध किसानहरूले सुरु गरेको स्वःस्फूर्त वर्ग संघर्ष हो। यो बिल्कुलै न्यायपूर्ण आन्दोलन हो,’ उनले भनेका छन्।
उनीहरूका समस्याहरूलाई आधारभूत रुपले समाधान गर्न सरकारले कदम चाल्नुपर्ने पूर्वप्रधानमन्त्री समेत रहेकान खनालको निष्कर्ष छ।
‘किसानहरुलाई यस पीडाबाट पूर्ण रुपले मुक्त बनाउने ढंगले कदम चाल्न, मिटरब्याज पीडकहरुलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्दछु । अन्यथा, परिस्थिति अझ जटिल बन्ने कुरा छर्लङ्ग छ,’ उनले भनेका छन्।
