लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जनप्रतिनिधिहरूले जनताको पक्षमा काम गर्न सके मात्रै अर्को निर्वाचनमा पनि जनताबाट चुनिएर आउने अवसर पाउने बताएका छन्।
पाँच वर्षका लागि निर्वाचित भएका जनप्रतिनिधिले जनताको पक्षमा काम नगर्ने हो भने अर्कोपटक जनताले हराइदिने बताए।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै गृहमन्त्री पाण्डेले भने, ‘अहिले राम्रो काम गर्न सके मात्र अर्कोपटक पनि जनताबाट ‘रिन्यू’ भएर आउन सकिन्छ।’
उनले आफू जहिलेपनि जनताको पक्षमा काम गर्दै आएकाले राजनितिक दल होस् वा स्वतन्त्रबाट जहाँबाट निर्वाचन लडेपनि जनताले आफूप्रति विश्वास गर्दै आएको बताए।
उनले शैक्षिक संस्थाहरूमा प्राध्यापक तथा शिक्षकहरू नै सर्वोपरि हुने भएकाले अध्यापनमार्फत विद्यार्थीहरूलाई ऐतिहासिक व्यक्ति बन्ने अवसर प्रदान गर्न आग्रह गरे।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विद्यालयमा विगतदेखि नै भौतिक पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरिने बताए।
विद्यालयका प्राचार्य चुन्नप्रसाद पाण्डेले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३५ लाख र विद्यालयबाट ४ लाख २७ हजार थप गरी ३९ लाख २७ हजारको लागतमा भवन निर्माण सुरू गरिएको जानकारी दिए।