प्रमुख प्रतिपक्षी दल नेकपाा (एमाले) ले फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनकाअनुसार केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने भएको छ।
‘यो बीचमा सुशासनका प्रश्नमा गम्भीर विचलन देखा परेको छ। मुलुक एक प्रकारले आर्थिक संकटतर्फ उन्मुख भइरहेको अवस्थामा राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने र एजेन्डा तयार गर्ने निर्णय भएको छ,’ महासचिव पोखरेलले भने।
आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि तय गरेको छ।
पोखरेलकाअनुसार सातौं केन्द्रीय कमिटी बैठकमा संगठनात्मक कामको प्रतिवेदन प्रस्तुत हुनेछ।
पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैठौं बैठकले संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। आगामी केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने महासचिव पोखरेलले बताए।
मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत गरिने उनले बताए।
त्यस्तै, मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको र यात्राका क्रममा नागरिकस्तरबाट आएको सुझावमा आधारित रहेर मध्यपहाडी क्षेत्रको विकासको सम्भावनाबारे पनि केन्द्रीय कमिटीले दृष्टिकोण तय गर्ने कार्यसूची रहेको पोखरेलले बताए।