नेकपा एमालेले पार्टी मुख्यालय बनाउन पार्टी सदस्यबाट सय रूपैयाँ उठाउने भएको छ।
बिहीबार बसेको पार्टी सचिवालयको बैठकले पार्टी केन्द्रीय कार्यालय बनाउन संगठित सदस्यबाट एक सय रूपैयाँ उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
संगठन विभागका अनुसार एमालेको संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्।
उनीहरूबाट सय रूपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो।
२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त तुल्याएपछि एमाले भाडाको घरमा बस्दै आएको छ।
यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।
सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो।
एमाले केन्द्रीय कार्यालय त्यहाँबाट पनि सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्याइएको हो।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो।
अब कुन ठाउँमा भवन बनाउने भन्ने तय भइनसकेको सचिव योगेश भट्टराईले जानकारी दिए।
‘बल्खुमा बनाउने कि, अन्यत्र जग्गा खोजेर बनाउने भन्ने तय भएको छैन। पार्टीका संगठित सदस्यबाट सय रुपैयाँ संकलन गर्ने निर्णय भएको छ,’ उनले भने।
बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष र माधवकुमार नेपाल महासचिव थिए।
दुवैजना प्रधानमन्त्री र परराष्ट्रमन्त्री भएर सरकारमा गएकाबेला वामदेव गौतम कार्यवाहक महासचिव थिए। उनैको नेतृत्वमा त्यो भवन बनेको थियो।
यसबीचमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा भवन निर्माण उपसमिति समेत बनाएर रकम संकलन गरेको थियो। भवनको शिलान्यास भने हुन सकेन।
बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गा रहेको एमालेले बताएको छ।
एमालेले २०७२ अगाडि नै बल्खु पार्टी कार्यालयका लागि अपुग भएको भन्दै पार्टी कार्यालय सार्ने कार्ययोजना तयार पारेको थियो।
तत्कालीन महासचिव ईश्वर पोखरेलले त्यो कार्ययोजना पेस गरेका थिए।