गण्डकी प्रदेश सरकार स्थापना दिवसका आज शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए।
नयाँ संविधान जारी भएपछि विसं २०७४ मंसिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आएको छ।
स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ।
प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभकामना सन्देश जारी गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख गुरुङले संघीयताको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए।
प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गरे।
मुख्यमन्त्री पाण्डेले प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको बताए।