प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कुर्सी हल्लिने डर आफूलाई नभएको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले कुर्सी हल्लिने डर नभएको बताएका हुन्।
‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरू हुने थिएन। सदनमा म दोहर्याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो,’ प्रधानमन्त्री दाहालले भने।
सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी, ललिता निवास प्रकरण, टिकटक बन्द, नेपाली सफ्टवेयरको प्रयोग र नेपाली आइटी उद्योगको प्रवर्द्वनबारे प्रश्न राखेका थिए।
‘नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको संसदको जानकारीमा छँदैछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यति धेरै उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरु छानबिनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण हो।’
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हाल अदालतमा विचाराधीन रहेको र अदालतले यसका केही प्रतिवादीलाई थुनामा पठाएको उनले बताए। साथै केहीलाई धरौटीमा रिहा गरेको उनको भनाइ छ।
‘धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको छ,’ प्रधानमन्त्री दाहालले भने।