समायावधि सकिन एक हप्तामात्रै बाँकी रहँदा ६० किलो र ९ किलो सुन तस्करी प्रकरणसम्बन्धी छानबिन गर्न बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा अध्ययनका लागि थप समय माग्ने कि नमाग्ने भन्नेबारे अन्योल देखिएको छ।
सरकारले आयोगलाई दिएको म्याद फागुन १५ गते सकिँदैछ।
असोज १४ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश डिललीराज आचार्यको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगलाई सुरूमा तीन महिनाको समय दिइएको थियो।
तर छानबिनको काम नसकिएपछि आयोगले थप तीन महिनाको समय माग गरेको थियो।
यद्यपि आयोगलाई सरकारले दुई महिना मात्रै समय दिएको हो। उक्त समय पनि फागुन १५ गते सकिँदैछ।
अब आयोगले अझै समय थप माग्ने वा प्रतिवेदन बुझाउने भन्नेबारे छलफल गर्नुपर्ने अध्यक्ष आचार्यले सेतोपाटीसँग बताए।
‘हामीले अहिले प्राप्त कागज, प्रमाणहरूलाई अध्ययन र विश्लेषण गरिरहेका छौं। फागुन १५ गतेसम्म काम सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल गर्दैछौं,’ उनले भने, ‘बयान लिनुपर्ने बाँकी छ/छैन, थप कुराहरू बुझ्नुपर्ने केके बाँकी छन् भन्नेबारे आज हामी छलफल गर्दैछौं।’
आयोगले ६० किलो सुन प्रकरण र ९ किलो सुन प्रकरणसँग प्रत्यक्ष वा अप्रत्यक्ष व्यक्तिहरूसँग बयान लिने काम गरेको छ। यसबाहेक परामर्श लिने, सोधपुछ गर्ने लगायत पनि काम गरेको छ।
आयोगले मुद्दा चलेका ३३ जना प्रतिवादीहरू र मुद्दा नचलेकाहरू २१ जनासँग बयान लिएको छ। त्यसबाहेक आयोग आफैंले १० जनासँग सोधपुछ गरेको थियो।
विभिन्न संघसंस्थाका विज्ञहरूको परामर्श गरेको छ। अन्य थुप्रैसँग पनि आयोगले बयान, सोधपुछ र परामर्श लिएको हो।
‘आयोगले अनुसन्धानको पहिलो चरणमा परामर्श गर्ने गरेको छ। यसमा विज्ञताको आधारमा हामीले बोलाउने गरेका हौं। दोस्रो सोधपुछको लागि कामको प्रकृतिसँग जोडिएका मानिस वा जसबाट कुनै खुराक प्राप्त हुनसक्छन् भनेर गरेका छौं,’ उनले भने, ‘तेस्रो बयान कागज जसभित्र शंकाको घेरामा रहेका व्यक्तिहरू पर्छन्। मुद्दा नचलेका मानिसहरू पनि पर्छन्। चौथोमा पुन: बयान कागजका लागि बोलाउने पनि गरेका छौं।’
पछिल्लो समय आयोगले नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालसँग पनि परामर्श लिएको हो।
‘हामीले आइजिपीहरूलाई परामर्शका बोलाएका थियौं,’ उनले भने।
आयोगले सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयको भवनमा बसेर काम गरिरहेको छ। आयोगले भेपमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिएको ९ किलो सुन तस्करी र गत साउन २ गते ब्रेक शुमा राखेर भित्रिएको ६० किलो सुन तस्करीको अनुसन्धान गरेको हो।
आयोगले सुरूवाती चरणमा विभिन्न नाकामा पनि अनुगमन गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, रसुवा नाका, तातोपानी नाकामा अनुगमन गरेको हो।