मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि जनमत पार्टीका सांसदको अडानले स्थगित भएको प्रदेशसभाको बैठक फेरि सुरु भएको छ।
बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा प्रदेशसभा सुरु भएको छलफलमा सांसहरुले आ– आफ्ना मत राखिरहेका छन्।
जनमत पार्टीले प्रदेशसभामा मधेश प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि माफी माग्नुपर्ने अडान लिएपछि केहीबेर बैठक अवरूद्ध भएको थियो।
प्रदेशसभामा विश्वासको मत लिन बसेको बैठक सुरु हुनसाथ जनमतका सांसदहरुले उभिएर विरोध जनाएका थिए।
उनीहरूले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा माघ ८ गते जनमत पार्टीका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव र सांसहरुमाथि भएको आक्रमणको विषयमा मुख्यमन्त्रीसँग जवाफ मागेका थिए।
गत माघ ८ गते जसपा अध्यक्ष उपेन्द्र यादवले विश्वविद्यालय शिलान्यास गर्न खोज्दा भएको झडपमा मन्त्री यादवको टाउको फुटेको थियो भने जनमतका सांसदहरु समेत घाइते भएका थिए।
पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक बस्न नदिने बताएपछि सभामुख रामचन्द्र मण्डले १० मिनेटका लागि बैठक स्थगित गरेर जनमत पार्टीका सांसद र मुख्यमन्त्रीलाई छलफलका लागि बोलाएका थिए।
‘कृषि विश्वविद्यालयको उद्घाटन समारोहमा मन्त्रीमाथि आक्रमण कहाँसम्म जायज छ। पहिले प्रष्ट जवाफ आओस अनि मात्र यो सदनको करबाही अघि बढ्छ,’ सभामुखले पछि मुख्यमन्त्रीले जवाफ दिने भनेपछि प्रमुख सचेतक सिंहले भने, ‘मुख्यमन्त्रीले अहिले क्षमा माग्ने आवश्यक्ता छ। मुख्यमन्त्रीजीले पहिले क्षमा माग्नुपर्छ अनि मात्रै संसदको कारबाही अघि बढ्छ।’