नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै जाँचबुझ आयोगको सिफारिस अनुसार मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।
‘बालकुमारी घटनाको बारेमा नैतिक रूपले मन्त्रीले छोड्नुपर्ने थियो, छोड्नुभएन। छोड्नुपर्छ भन्ने मेरो राय हो,’ उनले भने।
उनको राजीनामा प्रतिपक्षमात्रै नभएर सत्ता पक्षकै नेताहरूले माग गर्न थालेका हुन्। प्रतिपक्षी दलहरूले यसबारे संसदमा आवाज उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारे बोलेका थिए। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रतिनिधि सभा बैठकमा आज आफूले मन्त्रीबाट प्रतिवेदन लिने र त्यसलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने समेत बताएका थिए।
बालकुमारी घटनामा गठन गरेको जाँचबुझ आयोगले गत शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस थियो।
त्यस्तै फिल्ड कमान्डर उमेश लम्साल र पिएसओ बोधराज दनुवारलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।