चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि मिलनबिन्दु खोज्न दुई नेताबीच छलफल फेरि निष्कर्षविहीन बनेको छ। सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा छलफलमा बसेका थिए।
उक्त छलफल निष्कर्षविहीन बनेको र महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि बस्ने तय भएको एक नेताले बताए।
महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा देउवाको असहमति छ।
उनले कांग्रेससहितको गठबन्धनको सरकार चलिरहेको अहिलेको अवस्थामा यस्ता अडान राखिरहेका छन् भने महामन्त्री थापा पनि आफ्नो प्रस्तावमा अडिग देखिन्छन्। सभापति र महामन्त्रीबीच छलफल चलिरहेकाले महामन्त्रीको प्रस्ताव छाप्नका लागि प्रेसमा पठाउन ढिलाइ भइरहेको छ।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ। उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन्। यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी थिएनन्।
महामन्त्रीद्वयका प्रस्तावका कतिपय कुरामा आपत्ति जनाएका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावबारे भने केही भनेका छैनन्। त्यसैले उपसभापति खड्काले तयार पारेको प्रस्ताव छपाइका लागि हिजै प्रेसमा पठाइसकिएको छ।
सभापति देउवाले आइतबार बिहान पनि महामन्त्रीद्वय थापा र शर्मालाई निवास बूढानिलकण्ठमा बोलाएर प्रस्तावका कतिपय सन्दर्भ र भाषामा आफ्नो फरक मत रहेको बताएका थिए।
‘महामन्त्री थापाको प्रस्तावमा अबदेखि चुनावमा गठबन्धन नगर्ने, कांग्रेसी मतदातालाई रूखबाहेक अरू चुनाव चिन्हमा मत हाल्न नदिने अवस्था सिर्जना गर्ने कुरा समेटेकोमा सभापति देउवाले यो कुरा अहिले नै किन भनिराख्नुपर्यो भन्दै आपत्ति जनाउनुभयो,’ स्रोतले भन्यो, ‘अर्का महामन्त्री शर्माको प्रस्तावमा कोशीमा मुख्यमन्त्री चयन गर्दाका राजनीतिक घटनाक्रमका सन्दर्भ किन राखिराख्न पर्यो भन्ने सभापतिको चासो रह्यो।’
कोशीमा कांग्रेस नेता शेखर कोइरालानिकट केदार कार्कीले कांग्रेसका ८ र नेकपा (एमाले) का ३९ सांसदको सहयोगमा मुख्यमन्त्री दाबी गरेर नियुक्त भएका थिए। बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाबीच ३ बुँदे सहमति गर्दै कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने सहमति भएको थियो।
कांग्रेससहित सत्ता गठबन्धनको सहयोगमा अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। गठबन्धनभित्र प्रचण्ड पछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी छ।
‘अबदेखि गठबन्धन नगर्ने भनेर महासमितिमै छलफल गर्दा त्यसको असर गठबन्धनमा परेर गठबन्धन टुट्न सक्छ भन्ने डर सभापति देउवालाई छ,’ स्रोत भन्छ, ‘त्यसैले उहाँले गठबन्धनका कुरा महामन्त्रीद्वयका प्रस्तावमा राख्न चाहनु भएको छैन।’
सभापति देउवाले आफूलाई अहसज लागेका कुरा प्रतिवेदनबाट हटाउन अडान लिएका छन् भने महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना र ग्राउण्ड रियालिटी भएकोले महासमितिमा छलफल हुनुपर्ने बताउने गरेका छन्।
सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ। सभापति देउवाले बैठक उद्घाटन गर्नेछन्।