नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बीचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन्।
सोमबारबाट ललितपुरको गोदावरीमा सुरू पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको बताइन्।
कांग्रेसको नीति उत्कृष्ट बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने हुनुपर्ने धारणा उनको थियो।
‘हाम्रो गौरवाशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ। हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ। यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,’ उनले भनिन्।
सहमहामन्त्री उपाध्यायले मुलुकलाई अब कता लाने भन्ने अभिभारा पनि नीति अधिवेशनको भएको जिकिर गरिन्।
‘जनताको विश्वास कांग्रेसमा छ, जनताले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ। स्थानीय तहमा हाम्रो पार्टी ठूलो छ। प्रदेश र केन्द्रमा स्थापित छ। त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ। जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ,’ उनले थपिन्।
पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन्।
‘यो मेरो पनि आवाज हो। हाम्रो अपनत्वमा बनेको संविधानको रक्षा जनआन्दोलनको मर्म र भावनलाई बोकेर अघि बढ्नुपर्छ। अन्याय भयो भन्नेलाई अभिलेखकिरण गर्दै सबैलाई न्याय दिने वातावरणमा सबै जुटौं,’ उनले भनिन्।