नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएकाे छ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।
बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्।
अहिले उपसभापति एवं उपप्रधानमन्त्री खड्का पार्टीको नीति प्रस्ताव पेश गरिरहेका छन्।
यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्ने सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए।
बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।
कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।
महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ। कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो।
कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौंबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो काठमाडौंबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले राससलाई जानकारी दिए।