प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्।
‘चौथो शान्ति प्रयास’ अभ्यासको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताए।
शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए।
‘संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्यांकन गर्नुपर्ने भएको छ,’ प्रधानमन्त्रीले भने।
शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए।
खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको छ भने।
‘यस अवसरमा म विश्वभर शान्तिको जोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणको स्रोत हो।
उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूप्रति प्रशंसा गरे।
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ।’
नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे।
उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अंग रहेको बताउँदै यस कार्यको विश्वले प्रशंसा गरेको स्मरण गरे।
नेपालले हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप दस हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको बताए।