प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन्।
मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पटक-पटकको प्रस्ताव गरेको बताए।
उनले सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबी गरे। अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताएका छन्।
उनले सो विधेयक प्रचण्ड र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिरसमेत गरेका छन्। अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको पनि बताए।
‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौं। त्यसबेला पनि हामीले टुंग्याउन साह्रै कोशिस गरेका हौं। तर प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन,’ अध्यक्ष ओलीले भने, ‘किन मान्नुभएन, के शौख हो उहाँहरूको त्यो उहाँहरूले भन्नुहोला। तर स्पष्टतः उहाँहरूले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन मान्नुभएन। तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ।’