नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै घरपरिवारमा रहने सदस्य एकै तहको संसदमा हुँदा पार्टीले आलोचना भोग्नुपरेको बताएका छन्।
मंगलबार गोदावरीमा जारी महासमिति बैठकमा राजनीतिक समसामयिक प्रस्ताव पेस गर्दै उनले 'संसदमा एकै परिवारको प्रश्न निदान' शीर्षकमा उक्त कुरा बताएका हुन्।
यसरी एकै परिवारका सदस्य एकै संसदमा हुँदा पार्टीले आलोचना व्यहोर्नुपर्ने र नकारात्मक सन्देश जाने गरेको पनि उनले उल्लेख गरेका छन्। यद्यपि व्यक्तिको स्वतन्त्र अधिकारलाई परिवारको अन्य सदस्यसँग जोडेर कुण्ठित गर्न नमिल्ने तर्क पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।
‘व्यक्तिको स्वतन्त्र अधिकारलाई परिवारको अन्य सदस्यसँग जोडेर कुण्ठित गर्न नमिल्ने तर्क आफ्नो ठाउँमा महत्वपूर्ण छ तर अर्कातर्फ दल विशेषले व्यहोर्नुपर्ने आलोचना अनि नकारात्मक सन्देशको अर्को पाटो छ,’ उनले आफ्नो प्रस्तावमा लेखेका छन्, ‘त्यसैले आलोचनाको स्थिति नउब्जने थितिको विकल्प कांग्रेसले कार्यान्वयन गर्नेछ।’
त्यस्तै, महामन्त्री शर्माले बहिर्गमनको पद्धतिबारे पनि उल्लेख गरेका छन्।
पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुई पटकमात्रै जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरू गरिसकेको जानकारी दिए। मुलुकको शासन प्रणालीमा पनि त्यसलाई अवलम्बन गर्न जरूरी रहेको उनले तर्क गरेका छन्।
राष्ट्रिपति एक पटक, प्रधानमन्त्रीको बढीमा दुई पटक, मन्त्री तीन पटक र सांसदको अधिकतम चार पटकसम्म बन्न पाउने उनले प्रस्ताव गरेका छन्। प्रदेश तहमा पनि त्यसअनुसार नै मुख्यमन्त्री दुई पटक, मन्ती तीन पटक र प्रदेश सांसद चार पटक भन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्ने प्रस्तावमा उल्लेख छ।
शर्माले निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘प्राइमरी’ निर्वाचनको पनि प्रस्ताव गरेका हुन्।
‘राजनीतिक दलहरूले संघ, प्रदेश र स्थानीय तहको उम्मेदवार चयन गर्दा सोही भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरूको सहभागितामा चयन गर्ने 'प्राइमरी' पद्धति महत्वपूर्ण लोकतान्त्रिक विधि हुनसक्दछ। क्रमशः 'पाइलट प्रोजेक्ट' हुँदै त्यसलाई अंगीकार गर्ने निर्णय नेपाली कांग्रेस गर्दछ,’ उनले लेखेका छन्।
विज्ञहरूलाई राजनीतिमा प्रवेश गराउन फराकिलो ढोका बनाउनुपर्ने पनि उनले उल्लेख गरेका छन्। मन्त्रिपरिषद गठन गर्दा विज्ञताको उपयोग गर्ने सम्बन्धमा संवैधानिक बन्दोबस्तका लागि अन्य दलहरूसँग पनि कांग्रेसले छलफल गर्ने बताएका छन्।
त्यसैगरी उनले भौतिक निर्माण तीन सिफ्टमा गर्ने गरी पहल गर्नुपर्ने र त्यसका लागि कांग्रेसले पहलकदमी लिने पनि उल्लेख गरेका छन्।
‘समृद्धिको उचाइमा पुगेका संसारका कैयन् राष्ट्र पुल, बाटो जस्ता निर्माणको कार्य रातिको समयमा पनि गरिरहेका हुन्छन्। तर गरिबीसँग जुधिरहेको हाम्रो देशमा भने 'सूर्य अस्त, नेपाल मस्त' को अवस्था देखिन्छ,’ उनले आफ्नो प्रस्तावमा लेखेका छन्, ‘कयौं सडक पूर्वाधारका कामहरू सम्पन्न गर्न वर्षौं ढिलाइ हुनुको एउटा कारण यो पनि हो। अतः भौतिक निर्माणका कार्य तीन सिफ्टमा गर्ने गरी कार्य अघि बढाउन आवश्यक बन्दोबस्तका मिलाउन सरकारलाई आग्रह गर्दै कांग्रेसले आवश्यक पहलकदमी लिनेछ।’
पुँजीगत बजेट खर्चको आकार बढाउन र ३ वर्षमा सकिने निर्माण १ वर्षमा गरिसक्ने गरी अवस्थामा रूपान्तरण गर्न ८/८/८ घण्टाको तीन सिफ्टले सार्थक योगदान गर्न सक्ने उनको भनाइ छ।