नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि बुधबार छलफल हुने भएको छ। त्यसको लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ।
गोदावरीको सनराइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ। गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुल्चोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागी सुझाव दिन बैठक छलफल गर्नेछन्।
केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्।
सोमबारदेखि सुरू भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन्।