प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत भएका छन्।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षा सहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन्।
त्यस्तै, पार्टीव्यापी रूपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए।
पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको उनले बताए।
उनले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए।—न्युज एजेन्सी नेपाल