जारी केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकमा नेकपा एमालेले बुधबारबाट समूह छलफल गराउने भएको छ।
एमालेले विषय तोकेरै केन्द्रीय सदस्यहरूलाई समूह छलफल गराउन लागेको हो।
पाँचौं बैठकमा सदस्यहरूले बोल्न नपाएको गुनासो गरेका थिए।
यसपटक एमालेले पार्टी स्थायी कमिटी, सात प्रदेशका छुट्टाछुट्टै र उपत्यका विशेष समन्वय, सम्पर्क समन्वय र जनसंगठन, विभागहरूलाई एउटा समूह गरी ९ समूहमा बाँडेको छ।
एमालेमा अहिले ३४३ सदस्यीय केन्द्रीय कमिटी छ। कार्यालय सचिवसहित तीन जना आमन्त्रित सदस्य छन्।
नौ समूहलाई विषय तोकेरै छलफल गराउन लागेको हो।
समूह छलफलमा सदस्यताको मापदण्ड, सदस्यको क्षमता अभिवृद्धि र प्रभावकारिताको खोजी कसरी गर्ने भनेर छलफल गराइने एक केन्द्रीय सदस्यले बताए।
'पार्टी सदस्यता पाउनुअघि हरेक व्यक्तिले पूरा गर्नुपर्ने मापदण्डको प्रभावकारी परीक्षण र कार्यान्वयन कसरी गर्ने भनेर प्रश्न सोधिएको छ। यसमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गर्नेछन्,' ती केन्द्रीय सदस्यले भने।
सही प्रतिनिधि, मर्यादित अधिवेशन र सक्षम कमिटी निर्माण गर्ने तरिकाको खोजी पनि समूह छलफलमा हुने ती सदस्यले बताए।
'यमा विधान र नियमावलीको व्यवस्थाअनुरूप अधिवेशनका लागि योग्यतम् प्रतिनिधि कसरी छनोट र मनोनयनको सुनिश्चितता कसरी गर्ने, अधिवेशनलाई औपचारिकता निर्वाह गर्ने वा नेतृत्व कब्जा गर्ने थलोका रूपमा नभएर पार्टी निर्माणको थलोका रूपमा कसरी परिणत गर्ने, आपसी प्रतिस्पर्धालाई अन्तरविरोध थप विस्तार गर्ने नभइ त्यसलाई समाधान गर्दै एकताबद्ध भएर अगाडि बढ्ने आधारभूमिमा कसरी परिणत गर्ने आदि विषयमा घनिभूत छलफल हुनेछ,' ती सदस्यले बताए।
समूह छलफलमा कमिटीका पदाधिकारी तथा सदस्यहरूको व्यवस्थापन, परिचालनको विषय पनि छ।
यस्तै, पार्टीलाई गुटबन्दी, अनुशासित र एकताबद्ध बनाउने उपायको खोजी पनि समूह छलफलमा हुने अर्का केन्द्रीय सदस्यले बताए।
'उही नीति र एउटै मूल नेतृत्वका वरिपरि गोलबन्द पार्टीका विभिन्न तहमा फरकफरक स्वरूपको अन्तरविरोधले ग्रहण गरिरहेको गुटबन्दीको स्वरूपको कारणको खोजी के हो, यी अन्तरविरोध समाधान गर्ने र गुटबन्दी समाप्त पार्ने प्रभावकारी उपाय के के हुन सक्छ, पार्टीका समस्त नेता कार्यकर्ता र सदस्यलाई गतिशील, अनुशासित र एकताबद्ध बनाउन के गर्नुपर्छ भनेर सबै केन्द्रीय सदस्यलाई सोधिएको छ। समूह छलफलमा उनीहरूले आफ्ना धारणा राख्नेछन्। यसपटकको छलफल व्यवस्थित र अभिलेखीकृत पनि हुनेछ,' ती सदस्यले भने।
यसैगरी पार्टीभित्र जीवनशैली, कार्यशैली, आर्थिक तथा नैतिक आचरण र पारदर्शिता कायम राख्नेबारे पनि समूहमा छलफल हुनेछ।
यसमा पार्टीका नेता, कार्यकर्ता र सदस्यको जीवनशैली र कार्यशैलीलाई कसरी जनप्रिय बनाउन सकिन्छ भनेर सदस्यबाट धारणा माग गरिएको छ।
उनीहरूले पार्टीमा आर्थिक, नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने भनेर सुझाव र राय दिनेछन्।
यस्तै, समूह छलफलमा जनवर्गीय संगठन निर्माण, परिचालन र प्रभावकारिताको विषयमा पनि छ। यसमा राष्ट्र हित, जनताको अपेक्षा र आवश्यकतासँग जोडेर पार्टी निर्माण कसरी गर्ने भन्ने प्रश्न छ।
विभिन्न तहका जनप्रतिनिधिका लागि उम्मेदवारको मापदण्ड, जनप्रतिनिधि र पार्टी कमिटी तथा नागरिकसँगको सम्बन्ध कसरी घनिष्ट र जीवन्त बनाउने भनेर पनि छलफल हुने केन्द्रीय सदस्यले बताए।
सातौं केन्द्रीय कमिटी बैठकबाट एमालेले आन्दोलनको कार्ययोजना पनि बनाउँदैछ।
सरकारविरूद्ध जनपरिचालन र जनदबाब सिर्जना गर्न आन्दोलन अपरिहार्य रहेको एमालेको बुझाइ छ।
उसले जनसरोकार र राष्ट्रिय हितको विषयमा जनपरिचालन र जनदबाब गर्न कुन कुन मुद्दा उपयुक्त हुन सक्छन् भनेर पनि केन्द्रीय सदस्यबाट धारणा मागेको छ।
एमालेले राष्ट्रिय हित र सरोकार, सुशासन, आम जनसरोकारका, सामाजिक विभेद र असमानता, आर्थिक सामाजिक विकासका मुद्दा र वर्गीय र पेसागत विषय जोडिएका विषयमा आधारित भएर मुद्दाको खोजी गर्न पनि केन्द्रीय सदस्यहरूलाई भनेको छ।