नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीमा बझाङ जिल्ला कमिटीको रोकिएको अधिवेशन उपचुनावपछि सुरू गर्न प्रस्ताव गरिएको छ।
माघ १९ र २० गतेलाई तय भएको अधिवेशन हिमपातलाई कारण देखाएर रोकिएको थियो।
मङ्गलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रदीप ज्ञवालीले पार्टी संगठनात्मक कामको रिपोर्ट प्रस्तुत गर्दै बझाङको अधिवेशन उपचुनावपछि गर्न प्रस्ताव गरेका हुन्।
यद्यपि, उपचुनावको मिति तय भएको छैन। संघीय, प्रदेश सांसदसहित २६ वटा स्थान रिक्त छ।
यस्तै अहिलेसम्म एमालेको नौवटा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भइसकेको बताएको छ।
पाँच वटा जिल्लामा चुनावमार्फत् र तीनमा सहमतीय विधिबाट नेतृत्व चुनिएको ज्ञवालीले उल्लेख गरेका छन्। मुगु जिल्लामा सहमतीय विधिबाट नेतृत्व छानिएकामा विवाद भएपछि केन्द्रीय संगठन विभागले सहजीकरण गरिरहेको ज्ञवालीको प्रतिवेदनमा उल्लेख छ।
एमालेको पार्टी सदस्य पाँच लाख ४६ हजार
एमालेको संगठित सदस्य पाँच लाख ४६ हजार ६९५ कायम भएको ज्ञवालीले बताएका छन्।
सबै पार्टी सदस्यको विवरण खुल्नेगरी अभिलेख राखिएको र भौतिक उपस्थितिमै नवीकरण गरिएकाले संख्या घट्न पुगेको प्रतिवेदनमा उल्लेख छ।
‘कतिपय जिल्लामा नेतृत्व तहका कमिटीमा संगठित रहेका सदस्यहरूको नवीकरणसमेत छुटेको देखिन्छ भने कतिपय मापदण्ड पुगेका आवेदकहरूको आवेदन स्वीकार्ने कुरामा समस्या देखिन्छ। जिल्ला, पालिका, तथा वडाको प्राप्त विवरणको आधारमा सदस्यता नवीकरण र विस्तारमा समेत एकरूपता देखिँदैन। कतिपय जिल्ला, पालिकामा अस्वाभाविक विस्तार भएको देखिन्छ भने कतिपयमा विस्तारको प्रयास नै भएको देखिँदैन,’ ज्ञवालीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।