नेकपा (एमाले) ले प्रदेश तहमा आफ्नो नेतृत्वको सरकार नहुँदा त्यहाँको प्रदेश सभा निष्क्रिय बनेको विश्लेषण गरेको छ।
मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी संगठनात्मक कामको रिपोर्ट प्रस्तुत गर्दै त्यस्तो विश्लेषण गरेका हुन्।
‘यतिबेला हाम्रो पार्टी केन्द्र र प्रदेश सरकारमा छैन। स्थानीय तहमा हाम्रो उपस्थिति कार्यकारी भूमिकामा समेत उल्लेख्यरूपमा छ। बजेट निर्माणको पूर्वसन्ध्यामा केन्द्रीय तहमा प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोहीअनुरूप सघन ढंगले प्रदेश वा जिल्ला तहमा कार्यक्रम सञ्चालन गर्ने भनिएको थियो। केही प्रदेश र जिल्लामा बाहेक अधिकांशमा योजनाअनुरूपको काम अघि बढ्न सकेका छैनन्। प्रदेश सरकारमा हाम्रो सहभागिता नहुँदा प्रदेश सभा निष्क्रियजस्तै बनेका छन्,’ ज्ञवालीको प्रतिवेदनमा भनिएको छ।
संघीय संसद्मा भूमिका अझै प्रभावकारी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। समितिका बैठकमा नेतृत्व तहको उपस्थिति पातलो रहेको गुनासो आउन थालेको पनि प्रतिवेदनमा जनाइएको छ।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूलाई सदनभित्रको काममा प्रमुख केन्द्रित हुनेगरी पार्टी कामको योजना बनाउनुपर्ने देखिन्छ,’ ज्ञवालीको प्रतिवेदनमा भनिएको छ।