नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूमाथि आजदेखि छलफल हुँदैछ।
मंगलबार पेश भएका प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुनेछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा उक्त बैठक जारी छ।
चार वटा समूह विभाजन गरी पेश भएका प्रतिवेदनमाथि छलफल हुने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
मंगलबार बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए। महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए।
अर्थमन्त्रीसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रस्ताव पेश गरेका थिए।
उनीहरूले पेश गरेका प्रस्तावमाथि समूहगत रूपमा छलफल हुन लागेको हो।
फागुन ७ गतेदेखि गोदावरीमा कांग्रेसको महासमिति बैठक जारी छ। उक्त बैठक बिहीबारसम्म चल्नेछ।