नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएको सांगठनिक प्रस्तावमा महामन्त्री गगन थापाले पार्टीको आर्थिक व्यवस्थापनका विकल्पहरूबारे पनि चर्चा गरेका छन्।
उनले पार्टीको आर्थिक व्यवस्थापनका विषयमा अहिलेकै व्यवस्था कायम राख्ने कि बदल्ने भन्नेमा सुझाव दिन महासमिति सदस्यहरूलाई आग्रह गरेका हुन्।
अहिले कांग्रेसले लेबी र सहयोगीबाट चन्दासमेत लिने गर्छ। यही व्यवस्था कायम राख्ने कि अरू विकल्प खोज्ने भन्ने सुझाव दिन थापाले आग्रह गरेका हुन्।
महामन्त्री थापाले पार्टीहरूले निर्वाचनमा पाएको मतभारको आधारमा राज्यले नै दलहरूलाई कोष उपलब्ध गराउने विकल्प पनि अघि सारेका छन्।
महामन्त्री थापाले पेश गरेको सांगठनिक प्रस्तावको ३४ पृष्ठमा पार्टीको आर्थिक व्यवस्थापनबारे चर्चा गरिएको छ।
‘पार्टीको आर्थिक व्यवस्थापनको विषयका सन्दर्भमा अहिलेकै व्यवस्था कायम राख्ने वा पार्टीको आर्थिक पारदर्शीतासहित कोष व्यवस्थापनका सन्दर्भमा पार्टीको आन्तरिक कोष व्यवस्थापनका अतिरिक्त पार्टीहरूले निर्वाचनमा पाएको मतभारको आधारमा राज्यले नै दलहरूलाई कोष उपलब्ध गराउने व्यवस्थाका लागि पार्टीले पहलकदमी लिने? पार्टी भित्रको निर्वाचन र आम निर्वाचनको खर्च यही कोषबाट व्यहोर्ने प्रणालीको विकास गर्ने,’ उनको प्रस्ताव छ।
यीलगायत प्रस्तावमाथि महसमिति सदस्यहरूले सुझाव दिनेछन्। पार्टीहरूलाई आर्थिक पारदर्शीताका लागि मतभारका आधारमा राज्यकोषबाट कोष दिने र चन्दा सहयोग लिन नपाउने गरिनुपर्ने उनको भनाइ छ।
यो पनि: यस्तो छ महामन्त्री गगन थापाले महासमितिमा पेश गरेको प्रस्ताव