प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार प्रतिनिधि सभाका बैठकमा विरोध जनाउने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूलाई हटाउन माग गर्दै बिहीबार पनि सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘सार्वजनिक प्रश्न उठेका मन्त्रीहरू पदमा बसिरहनु नैतिक, शोभनीय कुरा होइन,’ सचेतक बर्तौलाले भने, ‘मन्त्री झन्डा हल्लाउँदै अख्तियारमा बयान दिँन जाने अनि पदमा बसिरहने कुरा मान्य हुँदैन।’
उनले टेरामक्स खरिद् प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग राजीनामा मागिएको बताए।
‘हामीले उठाएको कुराप्रति सरकार गम्भीर छैन। हाम्रो सशक्त विरोध रहन्छ,’ उनले भने।
प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे बस्दैछ।