प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा विरोध जनाएका छन्।
बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूलाई हटाउन माग गर्दै उनीहरूले विरोध जनाएका हुन्।
बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले संसद बैठक केहीबेर अवरोध गरेका थिए।
प्रतिपक्षी दलका नेताहरू उभिएर विरोध जनाएका थिए। विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका नेताहरूलाई बोल्न समय दिएका थिए।
एमालेका सांसद रघुजी पन्त, रास्वपाका सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले समय पाएका थिए।
उनीहरूले बालकुमारी घटना, टेरामक्स, ललिता निवास, लुम्बिनीको रामग्राम घटना लगायतका विषयमा विरोध जनाएका थिए। शून्य समय सुरू गर्न लाग्दा प्रतिपक्षी दलहरूले विरोध जनाएका हुन्।
रघुजी पन्तले बालकुमारी घटना भएकै दिन मन्त्री ज्वालाले राजीनामा दिएको भए नैतिकता देखिने हुने बताए। तर राजीनामा नदिएर नैतिकता नदेखाएको उनले बताए। त्यस्तै, स्वास्थ्य मन्त्री मोहन बस्नेत नै बयान दिन अख्तियारमा पुगेको भन्दै उनले राजीनामा दिनुपर्ने बताए।
त्यस्तै, विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दिनदेखि घटनाको छानबिन प्रतिवेदन अध्ययनमै रहेको भन्दै प्रश्न गरे।
ज्ञानेन्द्र शाहीले पनि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाएको भन्दै विरोध गरेका थिए।
सभामुखले यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको र फेरि पनि ध्यानाकर्षण गराउने भनेपछि प्रतिपक्षी दलका नेताहरू बसेका थिए।