राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फटाहा भनेपछि नेपाली कांग्रेसकी सांसदले नियमापत्ति जनाएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने क्रममा राप्रपा सांसद रोशन कार्कीले ‘प्रधानमन्त्रीमा धेरै गुणहरू रहेको अहिले फटाहा बोल्ने गुण पनि थपिएछ’ भनेकी थिइन्।
उनले प्रधानमन्त्रीले ६ गते रोष्ट्रममा आएर बालकुमारी घटनाको विषयमा प्रतिवेदन आएको र त्यसलाई अध्ययन गर्ने र सोही दिन बस्ने मन्त्रिपरिषदको बैठकले त्यसबारेमा निर्णय गर्ने बताएपनि अहिलेसम्म केही नभएको बताइकी थिइन्।
‘जुन सांसदहरूले छानेर प्रधानमन्त्री बनायो उनीहरूलाई बेबकुफ बनाउन पाइन्छ? बालकुमारी घटनामा प्रतिवेदनले मन्त्रीलाई दोषी ठहर गरेको छ। उहाँको कारणले दुइजना अबोध युवाहरूको हत्या भएको छ। दोषी देखिएको मन्त्री झन्डा हल्लाएर हिँडिरहनुभएको छ। सरकार असफल भइसकेको छ त्यसकारण जतिसक्दो चाँडो सरकारबाट हामीले उन्मुक्ति पाउनुपर्छ,’ उनले भनिन्।
त्यसपछि नेपाली कांग्रेसकी सांसद सुशिला थिङले नियमापत्ति जनाएकी थिइन्।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को ‘घ’ बमोजिम नियमापत्ति जनाउन चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो। त्यसकारण यो शब्द अश्लील भएकाले नियमापत्ति जनाएको छु,’ उनले भनिन्।
सांसद थिङ्ले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा सदनक ध्यानाकृष्ट जनाएका थिए। उनले सम्पूर्ण सांसदहरूलाई ध्यान पुर्याएर आफ्ना कुराहरू राख्न अनुरोध गरे।