नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।
उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चाताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चाताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने बताए।
उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरे।
उनले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो। कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन्। किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चाताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन।’
उनले अघि भने, ‘गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ। अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ।’
पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेता छन्। —न्युज एजेन्सी नेपाल