नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने बताएका छन्।
ललितपुरको गोदावरीमा महासमिति बैठकको समापनमा समारोहमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताए।
संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धताबमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
`संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो। संविधानमा सबैका सबै कुरा समेटिएका छैनन्। कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टि छन्´, उनले भने, `संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ। अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ।´
उनले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिए।
उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शीर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरेका थिए।
सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको उनको दाबी छ।
सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै उनले महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्ने पनि बताए।