सरकारले दिँदै आएको सुरक्षा कटौती गरेपछि नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षाको जिम्मा पार्टीको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)ले लिएको छ।
गृह मन्त्रालयले बिहीबार निर्णय गरेसँगै पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डलाई दिइँदै आएको सुरक्षाकर्मी फिर्ता भइसकेका छन्।
त्यसपछि प्रचण्डको सुरक्षाको सम्पूर्ण व्यवस्था वाइसिएलले गरिरहेको वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा'ले जानकारी दिए।
उनका अनुसार वाइसिएलको नेतृत्वमा 'पूर्वजनमुक्ति सेना'ले प्रचण्डलाई तीन तहको सुरक्षा प्रदान गरिरहेको छ। त्यसको व्यवस्थापनको जिम्मा दीपशिखा आफैले लिएका छन् भने फिल्डमा वाइसिएल अध्यक्ष पुष्प ओली लगायत अन्य रिटायर्ड व्यक्तिहरूले पनि व्यवस्थापन गरिरहेको उनले बताए।
'वाइसिएल नेपालको नेतृत्वमा पूर्वजनमुक्ति सेना जो वाइसिएलभित्रै कार्यरत छन्। अथवा बाहिर छन्। उनीहरूको नेतृत्वमा तीन तहको सुरक्षा प्रणाली अन्तर्गत सुरक्षा दिइरहेका छौं,' उनले भने।
उनका अनुसार पहिलो लेयरको टिम प्रचण्डसँगै हिँड्छ। त्यो टोली १५ जनाको छ।
दोस्रो लेयरको टोली ३० जनाको छ। 'त्यो टोली प्रचण्ड उपस्थित रहने ठाउँको एक/डेढ सय मिटर वरपर खटिन्छ,' इन्चार्ज दीपशिखाले सेतोपाटीसँग भने, 'दोस्रो लेयरले रूट क्लिअर गर्छ।'
तेस्रो लेयर कार्यक्रम हुने ठाउँमा खटिन्छ। प्रचण्ड जहाँ जहाँ कार्यक्रममा जान्छन्, त्यहाँ पहिल्यै वाइसिएलको केन्द्रले सिधै एउटा टोली पठाउँछ। त्यो टोलीले कार्यक्रमस्थल वा प्रचण्ड उपस्थित हुने स्थान वरपरको सुरक्षा व्यवस्था अवलोकन गर्ने इन्चार्ज दीपशिखा बताउँछन्।
शुक्रबार काठमाडौंमा प्रचण्डले सम्पादकहरूसँग संवाद गरेका थिए।
'त्यस दिन पनि सुरक्षा व्यवस्थाको सोही प्रणाली लागू भएको थियो। 'सुरूमा तेस्रो लेयरको टोलीले स्पट हेर्यो, दोस्रोले रूट क्लिअर गर्यो, पहिलो लेयरका टोली आसपास थिए,' उनले भने।
प्रचण्ड काठमाडौं उपत्यका बाहिर जानुपरे तेस्रो लेयरमा केही फेरबदल हुने इन्चार्ज दीपशिखाले जानकारी दिए।
'भ्याली बाहिर जाने हुनुभयो भने पहिलो र दोस्रो लेयर यथावत् हुन्छ। स्पोटका लागि त्यही जिल्लाको त्यही क्षेत्रको वाइसिएलले तेस्रो लेयर हेर्ने गरी व्यवस्थापन हुन्छ,' उनले भने, 'भ्यालीभित्रै हुँदा केन्द्रबाट कमान्ड गरेको टोलीले तेस्रो लेयर हेर्छ।'
प्रचण्डको सुरक्षाका लागि सिफ्टअनुसार टोली परिवर्तन हुने पनि इन्चार्ज दीपशिखाले बताए।
'यो टोली सिफ्ट अनुसार फरक फरक कार्यकर्ताको टोली हुन्छ। दिनमा एउटा र रातमा एउटा टोलीले गर्छ,' उनले भने।
यसरी प्रचण्डको सुरक्षाका लागि दैनिक सरदर ७० देखि १०० जना 'पूर्वजनमुक्ति सेना' खटिने उनले बताए।
'पहिलो लेयर र दोस्रो लेयर गरी ४५ जनाको नियमित सुरक्षा घेरा हुन्छ। तेस्रो लेयर कार्यक्रमको स्केल हेरेर तय हुन्छ,' उनले भने।
उनका अनुसार ठूलो कार्यक्रम छ भने तेस्रो लेयरमा मात्रै न्यूनतम ५०/६० जनाको टोली खटिन्छ। मध्यम छ भने ३० जनाको र त्यो भन्दा सानो भयो भने १० जनाको टोली तेस्रो लेयरको सुरक्षामा खटिन्छन्।
प्रचण्डको सुरक्षामा खटाइएका कति फिर्ता भए?
प्रचण्डलाई पूर्वप्रधानमन्त्री हैसियतको मात्रै सुरक्षा मापदण्ड लागू नहुने दीपशिखा बताउँछन्।
'विस्तृत शान्ति सम्झौताको एउटा बुँदामा के उल्लेख छ भने उच्च सुरक्षा थ्रेट भएका कारण उहाँलाई विशेष सुरक्षा व्यवस्था दिने भनिएको छ। त्यो हुँदा उहाँलाई पूर्वप्रधानमन्त्रीको हैसियतको मापदण्ड मात्रै लागू हुँदैनथ्यो,' उनले भने।
तर अहिले आउँदा सरकारले आफ्नो तजबिजअनुसारको कुरा गरेको उनले बताए।
अहिले प्रचण्डको सुरक्षामा सईको नेतृत्वमा २ जना जनपद प्रहरी र ८/९ जना सशस्त्र प्रहरी रहेको र बाँकी फिर्ता भइसकेको उनले बताए।
प्रचण्डले चढ्ने गरेको गाडी फिर्ताका लागि पनि प्रक्रिया चलिरहेको दीपशिखाले बताए।
तर सरकारले दिएको गाडी कुन हो भन्ने यकिन नभइसकेका कारण केही ढिला भएको उनले बताए।
'दुइटा गाडी छ; एउटा प्राइभेट अर्को सरकारी। एउटा जल्यो। जलेको सरकारी हो कि प्राइभेट हो पत्ता लगाउन कोसिस गरिरहेका छौं। एउटै मोडलको गाडी थियो। त्यसको नम्बर केहो भनेर सरकारसँग डाटा मागिरहेका छौं,' उनले भने।
प्रचण्डको सुरक्षामा खटिने जनपद प्रहरीको गाडी भने फिर्ता लगिसकेको दीपशिखाले जानकारी दिए।
'अर्को उहाँले चढ्ने गरेको गाडी भेरिफाइ गरिरहेका छौं। प्रशासनसँग हिजो बुझिएको थियो। आज शनिबार भयो। पत्ता लगाएर हामी नम्बर पठाइदिन्छौं भन्नुभएको छ । रेकर्ड नआउन्जेल कन्फ्युज भयो। कुन गाडी भन्ने यकिन छैन,' इन्चार्ज दीपशिखाले भने।