अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्।
जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार नै देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनी देश छाडेर भागेको भनेर सोमबार मात्रै पुष्टि भएको थियो।
माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कुटनितिज्ञले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका छन्।
'हामीले राष्ट्रपति कार्यालयका कर्मचारीसँग सम्पर्क गर्दा उहाँले देश नै छाडिसक्नुभएको भन्ने खबर पायौं,' विपक्षी दल नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले रोयटर्ससँग भनेका छन्।
देश छाडेर भागे पनि राष्ट्रपति राजोएलिना कहाँ छन् भन्ने यकिन छैन।
उनले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका रोयटर्सले जनाएको छ। उनले आफ्नो ठेगाना भने नखुलाएको तर देश नछाड्ने बताएको पनि रोयटर्सले लेखेको छ।
माडागास्करका एक सैनिक अधिकारीले राष्ट्रपति राजोएलिना आइतबार फ्रान्सेली विमान चढेर देश छाडेको बताएका छन्।
फ्रान्सेली रेडियो आरएफआईले पनि राष्ट्रपति राजोएलिनाले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग कुरा गरेको जनाएको छ।
सैनिक स्रोतका अनुसार आइतबार माडागास्करको सन्त मारी विमानस्थलमा फ्रान्सेली सैन्य विमान अवतरण भएको थियो। केही मिनेटमै एक हेलिकोप्टर त्यहाँ पुगेर राष्ट्रपति राजोएलिनालाई लिएर विमानमा चढाइएको भनेर रोयटर्सले लेखेको छ।
सेप्टेम्बर २५ देखि सुरु भएका प्रदर्शनहरू सुरुवातमा पानी र बिजुलीको अभावको विरोधमा थिए। त्यसपछि भ्रष्टाचार, कमजोर शासन र नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति समेत सरकारले नगरेको भन्दै आन्दोलन चर्किएको थियो।
जेनजीको आन्दोलनमा सेनाको विशेष इकाइले पनि साथ दिएपछि राष्ट्रपति राजोएलिनाले देशै छाड्नुपर्ने अवस्था आएको हो।
राजोएलिनालाई सत्तामा ल्याउन सन् २००९ को ‘कू’ मा साथ दिएको क्यापस्याट (CAPSAT) नामक विशेष सैन्य इकाईले गत साता आन्दोलनकारीलाई समर्थन गर्दै प्रदर्शनकारीलाई गोली नचलाउने घोषणा गरेको थियो।
त्यसपछि गजेन्डर्मी अर्धसैनिक बलका केही समूहले पनि आन्दोलनतर्फै उभिँदै नयाँ कमाण्डर नियुक्त गरेको थियो।
जेनजी आन्दोलनपछि सिनेटका अध्यक्षलाई पनि पदमुक्त गरी नयाँ कार्यवाहक अध्यक्ष जिन आन्द्रे न्द्रेमान्जारी नियुक्त गरिएको छ।
संविधान अनुसार राष्ट्रपतिले पद छोडे वा पद रिक्त भएमा सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रपतिको भूमिका लिन्छन्।
राष्ट्रपतिले देश छाडे पनि माडागास्करमा जेनजी आन्दोलन अझै जारी रहेको रोयटर्सले जनाएको छ।
राजधानी अन्तानानारिभोमा सोमबार हजारौं मानिस भेला भएर राष्ट्रपतिको राजीनामा मागेका थिए।
'१६ वर्षमा राष्ट्रपतिले जनताका लागि केही गरेनन्। उनीहरू धनी भए, हामी गरीब रह्यौं। अहिले सबैभन्दा धेरै पीडा हामी जेनजी पुस्ताले भोगिरहेका छौं,' होटलमा काम गरिरहेका २२ वर्षीय एड्रियनारिभोनी फानोमेगान्त्सोआले रोयटर्ससँग भनेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ देखि अहिलेसम्म आन्दोलनमा २२ जना मारिएका छन्। झन्डै ३ करोड जनसंख्या भएको माडागास्करमा तीन चौथाइ जनता गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन्।
राजोएलिनाले देश छोड्नुअघि अन्तिम कदमका रूपमा दुई जना फ्रान्सेली नागरिकलाई क्षमादान दिएका थिए। ती दुवैलाई सन् २०२१ मा भएको असफल ‘कू’ को अभियोगमा सजाय दिइएको थियो।
माडागास्करमा भएको आन्दोलन हालै नेपाल र मोरोक्कोमा भएका जेनजी आन्दोलनसँग पनि मिल्दोजुल्दो रहेको रोयटर्सले जनाएको छ। जेनजी आन्दोलनकै कारण कुनै देशको सरकार ढलेको यो दोस्रो घटना रहेको भनेर पनि रोयटर्सले लेखेको छ।