राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादमा आएका न्यायाधीशहरूमाथि कारबाही प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीका केही सांसदहरूसँग छलफल गरेका छन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटासँग सम्पर्क गरेको भनेर विवादमा तानिएका न्यायाधीशहरूलाई कसरी कारबाही गर्ने भन्ने विषयमा सभापति लामिछानेले पार्टीभित्र कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका हुन्। छलफलमा कानुन मन्त्री सोविता गौतम, सांसदहरु मधुकुमार चौलागाईं, समिक्षा बाँस्कोटा, सुलभ खरेल, मोहनलाल आचार्य सहभागि थिए।
सांसदहरूलाई रविले शुक्रबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए।
छलफलमा महाभियोगको सम्भावनाबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले सेतोपाटीसँग बताए।
ती सांसदका अनुसार सभापति लामिछानेले महाभियोग लगाउन सकिने आधारबारे छलफलमा सहभागी सांसदहरूलाई सोधेका थिए।
‘महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन? कति बलियो छ? भन्ने जिज्ञासा राख्नुभयो,’ उनले भने, ‘छ भने जाऔं, होइन भने पूर्वाग्रहको ढंगबाट कसैविरूद्ध नजाने भन्ने उहाँको भनाइ थियो।’
सांसदहरुले त्यसमा अध्ययन गर्नुपर्ने जबाफ दिएका थिए।
‘थप अध्ययन गरेर आज फेरि बैठक बस्ने भन्ने थियो। आजै सचिवालय बैठक परेकाले त्यो छलफलले निरन्तरता पाउन सकेन,’ ती सांसदले भने।
उनका अनुसार यो विषयमा भोलि पुनः छलफल हुनेछ।
‘सम्भवतः भोलि फेरि बस्छौं। हामीसँग जे-जे प्रमाण छ छलफल गर्छौं,’ उनले भने।
अहिले काठमाडौंमा उपलब्ध सांसदहरू मात्रै छलफलमा सहभागी थिए। उपत्यका बाहिर रहेका सांसदहरूलाई पनि बोलाइएको ती सांसदले जानकारी दिएका छन्।