महँगी, कमजोर सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको अभाव तथा बढ्दो असमानताको विरोधमा युरोपका विभिन्न देशमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्।
फ्रान्स र जर्मनीका प्रमुख सहरमा हजारौँ युवा सडकमा ओर्लिएका छन्। कतिपय स्थानमा प्रदर्शनकारीले पसलमा लुटपाट, तोडफोड र प्रहरीमाथि आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
शनिबार जर्मनीका ३४ सहरमा प्रदर्शन भएको थियो।
'जेनजी रेगेल्ट' (जेनजीले जिम्मेवारी लिन्छ) नामक अभियानको आह्वानमा बर्लिन, फ्र्यांकफर्ट र म्युनिक लगायत सहरमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीले अनिवार्य सैनिक सेवाको विरोध गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी गर्न तथा युवाको जीवनयापन सहज बनाउन माग गरेका छन्।
जर्मनीको आर्थिक केन्द्र फ्र्यांकफर्टमा प्रदर्शनका क्रममा कम्तीमा दुईवटा पसल लुटिएका छन्। अन्य पसलमा समेत तोडफोड भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीका अनुसार प्रदर्शनकारीले आपत्कालीन सेवामा खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए। प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत सहरको केन्द्रमा नजान र त्यहाँ रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
ह्याम्बर्गमा प्रदर्शनकारीले सडकमा अवरोध खडा गरी आगजनी गरेका थिए।
कोलोनमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरबितर पारेको थियो। बर्लिनमा प्रदर्शनकारीले प्रहरीमाथि बोतल र अण्डा प्रहार गरेका थिए।
आयोजकले १ लाख ८२ हजार मानिस सहभागी हुने अपेक्षा गरेका थिए।
तर प्रहरीको अनुमानमा फ्र्यांकफर्ट, म्युनिक र बर्लिनमा मात्रै करिब १८ हजार प्रदर्शनकारी सडकमा आएका थिए।
'हामी युद्ध र जबर्जस्तीको पक्षमा होइन, शान्ति र स्वतन्त्रताको पक्षमा आवाज उठाउन आएका हौँ,' अभियानकी प्रवक्ता लिना फ्रेडरिकले बर्लिनमा भनिन्।
उनले शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार, अनिवार्य सैनिक सेवाको अन्त्य र सामाजिक दायित्वको न्यायपूर्ण वितरण आफ्नो मुख्य माग रहेको बताइन्।
फ्रान्समा ३ लाख २० हजार सडकमा, ५११ जना पक्राउ
फ्रान्समा पनि महँगी र सार्वजनिक सेवाको कमजोर अवस्था विरुद्ध शनिबार तेस्रो चरणको प्रदर्शन भएको छ। राजधानी पेरिस सहित मार्सेई, लियोँ, तुलुज र अन्य सहरमा गरी करिब ३ लाख २० हजार मानिस सहभागी भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
गत सप्ताहान्तको प्रदर्शनमा करिब ४ लाख १० हजार सहभागी भएको अनुमान गरिएको थियो। यसपटक पेरिसमा मात्रै ७० हजार मानिस सडकमा ओर्लिएका थिए।
दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझ प्रदर्शनकारीका समूह र प्रहरीबीच झडप भएको थियो। प्रहरीले अश्रुग्यास र स्टन ग्रिनेड प्रयोग गरेर भीड तितरबितर पारेको थियो। देशभरबाट ५११ जना पक्राउ परेका छन्।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजले प्रदर्शनका क्रममा केही समूहबाट असाधारण स्तरको हिंसा भएको बताए। पेरिसमा एक प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार भएको घटनालाई उनले हत्या प्रयासको संज्ञा दिएका छन्।
प्रदर्शनलाई नियन्त्रणमा लिन सरकारले ७० हजार प्रहरी र सुरक्षा अधिकारी परिचालन गरेको थियो।
लियोँमा प्रदर्शनकारीले प्रहरीमाथि प्रहार गरेपछि अश्रुग्यास प्रयोग गरिएको थियो। तुलुजमा अनुमति नलिई गरिएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा चलाएको थियो।
फ्रान्सको प्रदर्शनमा विद्यार्थी, मजदुर संगठन र 'यल्लो भेस्ट' आन्दोलनका समर्थक सहभागी थिए। उनीहरूले महँगी नियन्त्रण, आर्थिक असमानता अन्त्य र सार्वजनिक सेवामा सुधारको माग गरेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारप्रति असन्तुष्टि पनि प्रदर्शनको मुख्य कारण बनेको छ।
जेरोम रोड्रिगेज नामका एक प्रदर्शनकारीले सर्वसाधारण परिवार सामान्य खर्च धान्न संघर्ष गरिरहेका बेला सरकारले अर्बौंको आर्थिक कारोबार गरिरहेको भन्दै आक्रोश व्यक्त गरे।
युवा विद्यार्थीहरूले मंगलबार र बिहीबार विद्यालय तथा विश्वविद्यालयमा अवरोध गर्ने कार्यक्रमसमेत घोषणा गरेका छन्। त्यसपछि नोभेम्बर ५ मा मजदुर र ट्रेड युनियनले आह्वान गरेको प्रदर्शनमा सहभागी हुने उनीहरूको तयारी छ।
अन्य युरोपेली सहरमा पनि सतर्कता
युरोपका अन्य देशमा पनि प्रदर्शन र झडपका घटना भएका छन्। इटालीका मिलान, टुरिन र बोलोन्यामा यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्पेनको बार्सिलोनामा टिकटक मार्फत नयाँ प्रदर्शनको आह्वान भएपछि प्रहरी सतर्क अवस्थामा छ।
यसै वर्ष युरोपका विभिन्न देशमा देखिएको युवा नेतृत्वको आन्दोलनले सरकारहरूमाथि दबाब बढाएको छ। सर्बियामा विद्यार्थी आन्दोलनले लामो समयदेखि सत्तामा रहेका नेताको राजनीतिक पराजयमा भूमिका खेलेको थियो भने फ्रान्समा प्रदर्शनले हिंसात्मक रूप लिएको छ।
जर्मनीमा भने दक्षिणपन्थी र वामपन्थी अतिवादी समूहले युवा आन्दोलनलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी आर्थिक वृद्धि पुनर्जीवित गर्न संघर्ष गरिरहेको छ। बढ्दो जीवनयापन खर्च, पेन्सन प्रणालीमाथिको दबाब र सार्वजनिक सेवाको कमजोर अवस्थाले युवामा असन्तुष्टि बढाएको छ।
यसले युरोपका विभिन्न देशमा देखिएको आन्दोलन केवल तत्कालीन राजनीतिक असन्तुष्टि नभई युवाको भविष्य, आर्थिक अवसर र राज्यको जिम्मेवारीसँग जोडिएको व्यापक सामाजिक आक्रोश भएको संकेत गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)