इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले अमेरिका र इसराइलसँग पुनः सैन्य भिडन्त हुन सक्ने भन्दै देशका शीर्ष सैन्य कमान्डरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
उनले सम्भावित जबाफी कारबाहीका विकल्प विस्तार गर्न र अमेरिका सहित इसराइलका सबै प्रकारका संरचनालाई इरानी सेनाको निशानाभित्र राख्न पनि आदेश दिएका छन्।
यद्यपि, इरानका विदेश मन्त्री अब्बास अराघ्चीले भने अमेरिका र इरानबीच जारी कूटनीतिक संवादमा सकारात्मक प्रगति भइरहेको संकेत गरेका छन्।
शनिबार टेलिग्राम मार्फत सार्वजनिक गरिएको वक्तव्य अनुसार खमेनीले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी), नियमित सेना र सशस्त्र बलको जनरल स्टाफका प्रमुखहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन्।
'हरेक तह र प्रकृतिका धम्कीको तत्काल र प्रभावकारी जवाफ दिनुपर्छ। त्यसका लागि भौगोलिक सीमाको कुनै बन्देज हुनु हुँदैन,' खमेनीको वक्तव्यमा भनिएको छ।
उनले सेनालाई सम्भावित निशानाको सूची अद्यावधिक गर्न निर्देशन दिँदै अमेरिका र इसराइलका 'भौतिक तथा अभौतिक सबै प्रकारका सम्पत्ति' इरानी सशस्त्र बलको पहुँचभित्र राख्न भनेका छन्।
खमेनीले शत्रुसँग शक्तिशाली भिडन्त गर्न सक्ने गरी सैन्य तयारीलाई थप प्रभावकारी बनाउनु अधिकतम प्रतिरोधात्मक क्षमता निर्माणको पूर्वसर्त भएको पनि बताएका छन्। उनले नयाँ प्रविधिको प्रयोग मार्फत सैन्य क्षमता विस्तार गर्न निर्देशन दिएका छन्।
उनको यो अभिव्यक्तिले अमेरिका र इसराइलले पुनः आक्रमण गर्न सक्ने आशंकाबीच इरान उच्च सैन्य सतर्कतामा रहेको देखाएको छ। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि पुनः आक्रमण भए त्यसको जवाफ अझ कडा हुने इरानको संकेतका रूपमा यसलाई हेरिएको छ।
खमेनीसँगको बैठक कहिले र कहाँ भएको हो भन्नेबारे वक्तव्यमा खुलाइएको छैन। तर राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले पहिलोपटक शीर्ष सैन्य कमान्डरहरूसँग सामूहिक बैठक गरेको यो पहिलो ज्ञात घटना हो।
फेब्रुअरीमा अमेरिका र इसराइलले युद्ध सुरु गरेयता खमेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनीसँग प्रत्यक्ष कुराकानी भएको दाबी गर्ने इरानी अधिकारीको संख्या पनि सीमित छ।
अमेरिकाले तत्काल आक्रमणको निर्णय गरेको छैन– रुबिओ
अमेरिकी विदेश मन्त्री मार्को रुबिओले भने इरानमाथि पुनः आक्रमण गर्ने निर्णय अमेरिकाले गरिनसकेको बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प कुटनीतिक माध्यमबाट समस्याको समाधान चाहिरहेको उनको भनाइ छ। यद्यपि, ट्रम्पले आवश्यक ठानेको जुनसुकै सैन्य लक्ष्य हासिल गर्न सक्ने क्षमता अमेरिकी सेनासँग रहेको उनले स्पष्ट पारे।
अटलान्टामा भएको जी–२० देशका विदेश मन्त्रीहरूको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रुबिओले इरानको सम्भावित प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरे।
'इरानी शासनको भनाइ मूलतः के हो भने हामीले चाहेको कुरा पाएनौँ भने जहाज मात्रै ध्वस्त पार्ने होइन, पूरै क्षेत्रका छिमेकी मुलुकको ऊर्जा पूर्वाधार समेत नष्ट गर्नेछौँ,' उनले भने।
उनले यस्तो व्यवहारलाई सामान्य रूपमा लिन नहुने पनि बताए।
यसैबीच, युद्ध अन्त्य गर्ने प्रयासस्वरूप कूटनीतिक संवाद पनि जारी छ।
इरानी विदेश मन्त्री अब्बास अराघ्चीले शनिबार मध्यस्थकर्ताहरूसँग वार्ता गर्न इरानी प्रतिनिधिमण्डल कतार पुगेको जानकारी दिएका छन्।
अल जजिरासँगको अन्तर्वार्तामा उनले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्बन्धमा इरानले यसअघि प्रस्तुत गरेको सातदिने प्रस्तावलाई दुई दिनमै कार्यान्वयन गर्ने प्रस्ताव गरेको बताए।
अराघ्चीका अनुसार इरानले अमेरिकासँग केही सर्त समेत राखेको छ।
'हाम्रा सर्तमा इस्लामावाद समझदारीपछि लगाइएका प्रतिबन्ध हटाउने र यस क्षेत्रबाट अमेरिकी सैन्य उपस्थिति घटाउने विषय समावेश छन्,' उनले भने।
उनले इरानलाई तेल निर्यातमा दिइएका छुट पुनः कायम गर्नुपर्ने र कतारमा रहेको रकम सहित विदेशमा रोक्का गरिएका आफ्ना सबै सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेको पनि बताए।
इरानी विदेश मन्त्रीका अनुसार मध्यस्थकर्ताहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्रस्ताव समेत साझा गरेका छन्। तर उनले त्यसबारे थप विवरण दिएनन्।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानको राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई पठाएको पत्रबारे पनि अराघ्चीले प्रतिक्रिया दिएका छन्।
'व्यापक संवाद र आपसी समझदारीका लागि ढोका खोल्ने अमेरिकी पक्षको प्रयासलाई सकारात्मक कदमका रूपमा लिइएको छ,' उनले भने।
यसअघि मंगलबारको संसदीय निर्वाचनपछि अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्न सक्ने भन्दै खाडी क्षेत्रका मुलुकहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको समाचार द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो।
फक्स न्युजका अनुसार अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बिहीबार राष्ट्रपति ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य कारबाहीका विकल्पबारे जानकारी गराएको थियो।
खमेनीसँगको बैठकपछि इरानी सशस्त्र बलका जनरल स्टाफ प्रमुख अली अब्दोल्लाहीले पनि सेनाले शत्रुको आक्रमण सुरु हुने प्रतीक्षा नगर्ने चेतावनी दिएका छन्।
'शत्रुको शत्रुतापूर्ण गतिविधिको संकेत पुष्टि हुनेबित्तिकै सशस्त्र बलले जवाफ दिने समय र तरिका छनोट गर्न त्यसको सुरुवात पर्खिने छैन,' सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आइआरएनए) ले उनलाई उद्धृत गर्दै जनाएको छ।
कूटनीतिक वार्ता जारी रहेकै बेला इरानको सैन्य नेतृत्वबाट आएका पछिल्ला अभिव्यक्तिले अमेरिका–इरान तनाव अझै कम नभएको र युद्ध पुनः चर्किन सक्ने जोखिम कायम रहेको देखाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)