पूर्वमन्त्री सुमना श्रेष्ठले आफू एकताको पक्षमा रहेको बताएकी छन्।
बुधबार उज्यालो पार्टी नेपाल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले एकताको आह्वान गरेकी हुन्।
सुमनाले कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एउटै पार्टी गठन गर्ने विषयमा अनौपचारिक छलफल चलाएकी थिइन्।
उनी आफै पनि कुलमानको पार्टीमा आउने तयारीमा थिइन्। नाम र नेतृत्वको विषययमा सहमति हुन नसक्दा उनी पार्टीमा जोडिइनन्।
बुधबार प्रज्ञा भवनको कार्यक्रममा उनले छुट्टा छुट्टै हिँड्नुभन्दा एजेन्डामा एकरूपता ल्याउँदै एकतामा बाँधिनुपर्ने उनले बताइन्।
'सबैजना आ-आफ्नो बाटो होइन। मन फराकिलो गरेर, आज घोषणा भएको एजेन्डामा सबैको एकमत छ। त्यसो भए हामी किन फरक-फरक बाटो हिँड्ने?,' उनले भनिन्, ' धेरैले सुमना कहाँ छिन् भनेर सोध्छन्। सुमना एकतामा छ। एकता हुनैपर्छ।'
एक्ला एक्लै हिँड्दा पुरानै दल र प्रवृत्तिलाई रेड कार्पेटमा स्वागत गरिएसरी हुने उनको भनाइ छ।
'नेपाली जनताले २३ र २४ गते सडकबाट भनेको कुरा के हो? पुरानो राजनीतिक संस्कार पुग्यो भनेको हो। पाँच वटा औँला मुठ्ठी बन्दा शक्तिशाली हुन्छ,' उनले भनिन्, 'एकताबाटै पुरानो राजनीतिक संस्कार जसलाई फाल्नका लागि हाम्रा भाइबहिनीहरूले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरेका थिए। उहाँहरूलाई फेरि कुर्सीमा लैजान अवस्था आउन नदिनू हामी सबैको दायित्व हो।'
'त्यसकारण सबैलाई अनुरोध गरेँ। फराकिलो छाती राखौं एजेन्डामा एकरूपता ल्याऔं। एजेन्डामा सहकार्य गरेर देशलाई निकास दिऔं। अबको बाटो निकास नै हो,' सुमनाले अगाडि भनिन्।